Logo
८ साउन २०८३, शुक्रबार

विराटनगर विमानस्थलबाट साढे ६ लाख रुपैयाँसहित उपसचिव पक्राउ

अक्षरपाटी
२०८३ साउन ८ , शुक्रबार ०१:०७ मा प्रकाशित

विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनी साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थल सुरक्षा जाँचका क्रममा नियन्त्रणमा परेका थिए। घटनाबारे प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक विवरण प्रस्तुत गर्न नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले तामाङमाथि रकमको स्रोतबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार बरामद नगदको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले आवश्यक अनुसन्धान अघि बढाइएको छ।

उपसचिव पक्राउ विराटनगर