Logo
१२ कात्तिक २०८३, बिहीबार

प्रहरी संगठनमा हलचल : सातै प्रदेशका डीआईजीलाई काठमाडौं बोलाइयो

अक्षरपाटी
२०८३ कात्तिक १२ , बिहीबार १२:१० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी प्रमुखसहित काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी संगठनका उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएका बेला प्रहरी प्रधान कार्यालयले प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको हो।

प्रहरी स्रोतका अनुसार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो १२ बजेसम्म उपस्थित हुन निर्देशन दिइएको छ। बोलाइएकामा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजी छन्।

प्रहरी संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षा व्यवस्थापनमा असर पर्ने गरी विभिन्न विषयमा सञ्चारमाध्यममा चर्चा हुन थालेपछि त्यसले पार्न सक्ने प्रभावबारे छलफल गर्न प्रदेशका प्रहरी प्रमुखलाई बोलाइएको स्रोतको भनाइ छ।

प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं पुग्नुअघि नै प्रहरी प्रधान कार्यालयमा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक जारी रहेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा बस्ने बैठकमा प्रधान कार्यालयसहित काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकारी सहभागी हुने गर्छन्।

प्रहरी स्रोतका अनुसार प्रहरीप्रतिको जनविश्वासमा असर पर्ने र प्रहरी तथा नागरिकबीचको सहकार्य कमजोर हुने खालका हस्तक्षेप वा चलखेल स्वीकार्य नहुने सन्देशसहित संगठनले आफ्नो सक्रियता बढाएको छ।

बोलाइएका डीआईजीमध्ये कोशी प्रदेशका शेखर खनाल केही दिनदेखि बिदामा काठमाडौंमै छन्। मधेश प्रदेशका डीआईजी ओमप्रसाद अधिकारी पनि कार्यालयको कामका सिलसिलामा केही दिनदेखि काठमाडौंमा रहेको बताइएको छ।

त्यस्तै, बागमती प्रदेशका दीपक रेग्मी, लुम्बिनीका भूपेन्द्रबहादुर खत्री, कर्णालीका जयराज सापकोटा र सुदूरपश्चिम प्रदेशका सानुराम भट्टराई हवाई मार्ग हुँदै काठमाडौं आइरहेका छन्।

यद्यपि, प्रदेश प्रहरी प्रमुखहरूलाई बोलाउनुको औपचारिक कारणबारे स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन।

नेपाल प्रहरी प्रहरी प्रधान कार्यालय

ट्रेन्डिङ ( साप्ताहिक )