नेपालगन्ज। तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडि सेवा पूर्ण रुपमा बन्द गराएका छन् ।पश्चिम नेपालकै सबैभन्दा ठुलो निजि अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडि सेवाहरु आन्दोलनरत कर्मचारीले बन्द गराएपछि बिरामीलाई समस्या भएको छ ।
सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र विहिबार आधा समय ओपिडि बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाई नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडि सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाई पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताउनुभयो ।
उहाँले अस्पताल व्यवस्थापनले कर्मचारीका जायज माग पुरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ती जारी गर्ने गरेको जनाउँदै अस्पतालका ओपिडि सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताउनुभयो ।
बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालिन सेवा जारी राखिएको जनाउँदै संयोजक गिरीले माग पुरा नगरिए थप अगाडी बढ्ने चेतावनी दिनुभयो । नेपालगन्ज र कोहलपुर दुबै अस्पतालको ओपिडि सेवा बन्द गरिएकोले शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए ।
आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबीच पटक–पटक वार्ता भएपनि निष्कर्श ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनु परेको कर्मचारीको भनाई छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए ।