कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च दुई करोडभन्दा बढी देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौवटा पालिकाले ‘भ्रमण’ खर्चमा मात्रै दुई करोड २३ लाख ६९ हजार रुपियाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा अन्य पालिकाका हकमा बेलौरी पालिकाकाले अत्यधिक भ्रमण खर्च सुरु गरेको छ।
बेलौरी नगरपालिकाको भ्रमण खर्च गत आर्थिक वर्षमा ४८ लाख ३४ हजार आठ सय रुपियाँ नाघेको हो ।
सो पालिकाले कर्मचारीको भ्रमणमा १६ लाख ८० हजार २९७ रुपियाँ र पदाधिकारी भ्रमणमा २४ लाख ७९ हजार २०१ रुपियाँ खर्चेको हो।
भ्रमणमा प्रयोग भएका सवारीसाधनको अनुगमन प्रतिवेदनसमेत बेलौरी नगरपालिकाले तयार गरेको छैन। सो रकमको सदुपयोग नभएको आशंका महालेखापरीक्षकको कार्यालयले गरेको छ।
कृष्णपुर नगरपालिकाले पनि भ्रमण खर्च ३१ लाख ५० हजार रुपैयाँ गरेको छ। सो पालिकाले स्पष्ट प्रयोजन र उद्देश्यबिना भ्रमण खर्च गरेको देखिएको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ ।
अघिल्लो आर्थिक वर्षमा कृष्णपुर नगरपालिकाले भ्रमण खर्च शीर्षकमा २४ लाख ९८ हजार रुपैयाँ खर्च गरेको हो।
शुक्लाफाँटा नगरपालिकाले गत आर्थिक वर्षमा पदाधिकारी र कर्मचारीलाई भ्रमण खर्चस्वरूप २१ लाख ९९ हजार ९०१ रुपियाँ खर्च गरेको छ ।
यस्तै बेदकोट नगरपालिकाले गत आर्थिक वर्षमा २४ लाख ६९ हजार ६७६ रुपैयाँ कर्मचारी र पदाधिकारीको भ्रमण ‘शीर्षक’ मा खर्च गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा भीमदत्त नगरपालिकाले कर्मचारी र पदाधिकारीको भ्रमणबापत २१ लाख २७ हजार ९८१ रुपैयाँ खर्च गरेको छ ।
भीमदत्त नगरपालिकाले भ्रमण अभिलेख खाता अद्यावधिक नगरेले सो खर्च उपयुक्त नहुनसक्ने ठम्याइ लेखापरीक्षकको कार्यालयको छ।
बेलडाँडी गाउँपालिकाले भने नगरपालिकाभन्दा बढ्ता भ्रमण खर्च शीर्षकमा गरेको छ ।
सो पालिकाको भ्रमण खर्च गत २७ लाख ९१ हजार रुपैयाँ भ्रमणमै खर्च गरेको छ।
सो पालिकाको कर्मचारी तथा पदाधिकारी भ्रमणमा २५ लाख ३७ हजार २५ रुपैयाँ खर्च गरेको छ भने अन्य भ्रमणमा दुई लाख ५४ हजार दुई सय रुपैयाँ पुगेको छ।
बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २२ लाख ६८ हजार भ्रमणमा खर्च गरेको थियो भने शुक्लाफाँटा नगरपालिकाले पनि १७ लाख दुई हजार रुपैयाँ भ्रमणमा खर्च गरेको थियो ।
लालझाँडी गाउँपालिकाले भने भ्रमण खर्चको अभिलेख खाता नै नराखेको महालेखाले उल्लेख गरेको छ।
दोधारा चाँदनी नगरपालिकाले गत आर्थिक वर्षमा २६ लाख २२ हजार ४३५ रुपैयाँ भ्रमण शीर्षकमा खर्च गरेको छ।
सो पालिकाले भ्रमण अभिलेख खाता प्रमाणित, कोष प्रमाणित, प्रयोग भएका सवारीसाधनको टिकट अनुगमन प्रतिवेदन भने तयार नगरेको पाइएको हो।
यसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
पुनर्वास नगरपालिकाले गत आवमा भ्रमण खर्च शीर्षकमा २१ लाख ७३ हजार ७०३ रुपियाँ खर्च भएको जनाएको छ ।
भ्रमणमा प्रयोग भएका सवारीसाधनको प्रतिवेदन भने नराखेको पाइएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।
यसले गर्दा भ्रमण तथा अनुगमनको सही सदुपयोग भएको भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ।
भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण गएको मिति भ्रमणमा प्रयोग भएका सवारीसाधनको भ्रमण अभिलेख स्पष्ट राख्नुपर्ने र भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार प्रमाण स्थापित हुने गरेर आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने सुझाएको छ।
कञ्चनपुरमा भने पालिकाहरूले भ्रमण खर्चको अभिलेख नै नराखेको पाइएको छ।
अनियमितता कञ्चनपुर महालेखापरीक्षक