० लीला अनमोल
मनभित्रको बगरमा
टुसाएर बसेको छ युगौंदेखि
एउटा असमानताको चर्को घाम
जसले पोलिरहन्छ मलाई पटक–पटक,
चुल्हा चौका र गृहस्थीका लाचारीहरूमा
परिस्थितिका चक्कीमा पिसिएका विभेदहरूले
मेरो वर्तमानलाई बिझाउँछ उसैगरी,
रहरका सुनगाभाहरू चोरेर ऊ
म भित्रको बाध्यताको पर्खाल लगाउँछ
र आदर्शको आगोले
डढाएर मेरो पारिलो स्वतन्त्रता
क्षणभरमै ध्वस्त पारौँ भन्छ ।
उम्रनै सक्तैन मेरो प्रगतिको हरियो दुबो
उसको कठोरताको रापिलो प्रकाशले
न कहिल्यै
झुल्कन सक्छ मेरो जून
ग्रहण लागेको उसको आकाशमा,
बरु पिएर ऊ
मेरो अस्मिताको मिठो राग
आफ्नै जीवनको आनन्दी गीत गुनगुनाइरहन्छ।
म चाहन्थेँ–
शिशिर लागेको यो समय
शीतले भिजोस् उसको निरङ्कुशता
छोपोस् कुहिरोको लहरले
मेरा निम्ति
उसले उभ्याएका असिमित पहाडहरू
चिमोटोस् सिरेटोले
मेरो स्वतन्त्रता खोस्ने
उसको छिप्पिएको मस्तिष्क,
तर म यतिबेला विद्रोही भएकी छु
उल्लङ्घन गरेर उसको आचारसंहिता
नयाँ योजना कायम गरिरहेछु
उघारेर त्रासको च्यादर
सङ्घर्षको युद्ध लडिरहेछु
खोसेर ऊबाट
मेरो जीवनको हाजिरी खातामा
विभेदको हस्ताक्षर गरिरहेछु।