Logo
४ वैशाख २०८३, शुक्रबार

मुक्ति

अक्षरपाटी
२०८२ चैत्र १४ , शनिबार १०:०३ मा प्रकाशित

​० लीला अनमोल

नडराऊ प्रिय नेतृत्व!
यी तिमीले नै उनेका सड्यन्त्रका जालोहरू हुन्
हिजो अरूलाई थुन्न भनी बनाएका ती तिखा काँडेतारहरू
आज तिम्रै पाइतालामा बिझेका मात्र हुन्।

तिमीले त इतिहासको पानामा
मुक्तिको परिभाषा अर्कै लेखेका थियौ
तर बिर्सियौ
अरूलाई धरापमा पारेर अघि बढ्ने बाटो
घुमिफिरी आफ्नै आँगनमा आइपुग्छ।

आज तिम्रो सिंहासन हल्लिनु कुनै संयोग होइन
यो त तिमीले नै रोपेको अस्थिरताको बीउले दिएको फल मात्र हो।

हिजो तिमीले जुन भीडलाई ‘शक्ति’ भन्यौ,
आज त्यही भीड तिम्रो पतनको साक्षी बस्दैछ।
तिमीले बनाएका ती कानुनका छिद्रहरू
जहाँबाट हिजो तिम्रा निकटकाहरू उम्किएका थिए
आज तिनै छिद्रहरूले तिम्रो सुरक्षा कवच निल्दैछन्।

न काँप प्रिय नेतृत्व !
मुक्ति त अब यो डरबाट पाउनु छ तिमीले।
अबको मुक्ति कुर्सी जोगाउने जिद्दीमा छैन
बरु यो त
आफ्नै अहंकारको पर्खाल भत्किएको स्वीकार गर्नुमा छ।

हिजो तिमीले अरूका लागि खनेको त्यो खाडल
आज तिम्रो विश्रामको ठाउँ बनेको छ
यो एउटा अन्तिम सत्य हो
जस्लाइ हासी -हासी अँगालि देउ
र आफ्ना जिद्दीहरुलाई मुक्त गरिदेउ
यो नै अबको ‘मुक्ति’ हो।

बुझ सत्ताका सारथिहरू !
बिर्सिएर सत्यको सुकिलो बाटो
नअँगाल्नु प्रतिशोधको यो विषालु काँडा

तिमिले पनि
याद राख
तिमीले आज कसैको बाटोमा खनेको खाडल
भोलि तिम्रै फर्कने पदचापको ‘विश्राम’ नबनोस।

( बिर्तामोड झापा)

कविता लीला अनमोल
यो पनि हेर्नुहोस् : भरोसाको दोस्रो क्षितिज