Logo
१७ कात्तिक २०८२, आईतबार

धनगढीमा ‘जेनजी मार्ग’ नामकरण हुने

अक्षरपाटी
२०८२ असोज १ , बुधबार ०४:०९ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने घोषणा गरेका छन्।

मेयर हमालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको बलिदान केवल इतिहासमै सीमित नभई देशका युवाको मुटुमा दीप बनेर सदैव जलिरहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले धनगढी उपमहानगरपालिका–१ अन्तर्गत जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट–क्याम्पस रोड छुने सडक (जहाँ महिला उद्यम बजार सञ्चालन भइरहेको छ) सम्मलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने जानकारी दिएका हुन्।

“उक्त सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्न कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्नेछु। साथै, सो क्षेत्रमा ‘जेनजी मार्ग’ नाम प्रयोग गर्न सम्पूर्ण नगरवासीलाई अपील गर्दछु,” मेयर हमालले लेखेका छन्।

उनका अनुसार न्याय, अधिकार र परिवर्तनका लागि जीवन अर्पण गर्नेहरूको साहस सधैं प्रेरणाको ज्योति बनेर चम्किरहनेछ।

यसअघि पनि मेयर हमालले भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनलाई खुला समर्थन जनाएका थिए। आन्दोलन अघि उनले भिडियो सन्देशमार्फत समर्थन मात्र नभई सहयोग गर्नसमेत अपील गरेका थिए। विद्यार्थीको मृत्यु भएपछि उनले अर्को भिडियो सन्देश जारी गर्दै सरकारी दमनको कडा विरोध गरेका थिए।

धनगढीमा आन्दोलनका क्रममा मन्त्रालय र सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भए पनि मेयर हमालको समर्थनका कारण उपमहानगरपालिकाको भवन र वडा कार्यालयहरू सुरक्षित रहेका थिए।

गोपाल हमाल

ट्रेन्डिङ ( साप्ताहिक )