Logo
२० मंसीर २०८२, शनिबार

‘पुनर्जन्मदाता’ भन्दै डा. विवेक जोशीलाई विशेष सम्मान

अक्षरपाटी
२०८२ मंसीर २० , शनिबार ०९:१२ मा प्रकाशित

धनगढी । धनगढीस्थित कैलाली अस्पतालका ल्याप्रोस्कोपी सर्जन डा. विवेक जोशी एक गम्भीर घाइतेको ज्यान बचाएपछि डमौलिया गाउँका नागरिकको विशेष सम्मान प्राप्त गरेका छन्। मृत्युको मुखबाट फर्काइएका शुसिल चौधरीको सफल शल्यक्रियापछि गाउँलेहरूले डा. जोशीलाई ‘पुनर्जन्म दिने चिकित्सक’ भन्दै गाउँमै भव्य समारोह गरेर सम्मान गरेका हुन्।

छातीमा धारिलो हतियारको प्रहारपछि गम्भीर अवस्थामा पुगेका चौधरीलाई डा. जोशीको नेतृत्वमा चिकित्सक टोलीले गरेको आपतकालीन शल्यक्रियाले चौधरीको ‘मृत्यु–सम्भावना’ समेत उल्टाइदियो।

चिकित्सकहरूका अनुसार चौधरीको बाँच्ने सम्भावना मात्र पाँच प्रतिशत थियो। तर जोखिमपूर्ण शल्यक्रिया र निरन्तर सघन उपचारपछि उनी अहिले पूर्ण रूपमा स्वास्थ्यलाभ गरिरहेका छन्।

स्वास्थ्यलाभ गर्दै घर फर्किएका चौधरीले अस्पताल र चिकित्सकप्रति भावुक आभार प्रकट गर्दै भने, ‘सबैले बाँच्ने आशा छोडिसकेका थिए। परिवार पनि निराश थियो। तर डाक्टर साबको अथक मेहनत र भगवानको कृपाले म आज फेरि बाँचेर परिवारसँग छुँ। उहाँले मलाई नयाँ जीवन दिनुभयो।’

डमौलिया गाउँमा चौधरीको जीवन जोगिएको खबर फैलिँदै जाँदा गाउँभरि खुसीको माहोल छायो। स्थानीयले डा. जोशीलाई दोसल्ला, खादा, फूलमाला र सम्मानपत्रसहित विशेष सत्कार गरे।

सम्मान स्वीकार गर्दै डा. जोशी विनम्र हुँदै भने, ‘मैले आफ्नो पेशागत धर्म मात्र पूरा गरेको हुँ। एउटा ज्यान बचिनु मेरो मात्र श्रेय होइन, यो सम्पूर्ण मेडिकल टिमको सामूहिक मेहनतको नतिजा हो।’

उनले आगामी दिनमा अझै गुणस्तरीय र सेवामुखी स्वास्थ्यसेवा उपलब्ध गराउने बताउँदै समुदायले देखाएको प्रेमप्रति आभार व्यक्त गरे।

कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशीले अस्पताल सधैं सेवामुखी उद्देश्य लिएर सञ्चालन हुँदै आएको बताए। ‘गरिब, असहाय र विपन्न नागरिकलाई सस्तो र प्रभावकारी सेवा दिनु नै हाम्रो प्राथमिकता हो,’ उनले बताए।

गाउँका भलमन्सा तिलक चौधरीले अस्पतालप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भने, ‘शुसिल मात्र होइन, हाम्रो गाउँका धेरैले कैलाली अस्पतालबाट नयाँ जीवन पाएका छन्। यस्ता भगवानरूपी डाक्टरलाई नमन।’