

अछाम । बयालपाटा प्रादेशिक अस्पतालमा करिब पाँच महिनापछि स्वास्थ्य बीमा सेवा पुनः सञ्चालनमा आएको छ। माघ १ गतेदेखि लागू हुने गरी अस्पतालमा बीमामार्फत उपचार सेवा दिन थालिएको हो।
भदौ १ गतेदेखि अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको मातहत आएसँगै यहाँ सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम रोकिएको थियो। आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएपछि पुनः बीमा सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठकले जानकारी दिए।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत अस्पताल सञ्चालन भएपछि केही समय सरकारी दररेटअनुसार शुल्क लिएर सेवा प्रदान गरिएको थियो। तर अब स्वास्थ्य बीमा गरेका बिरामीहरूले पुनः निःशुल्क उपचार सुविधा पाउनेछन्।
बीमा सेवा पुनः सुरु भएको पाँच दिनभित्रै ७० जनाभन्दा बढी सेवाग्राहीले बीमामार्फत उपचार लिइसकेको अस्पताल स्रोतले जनाएको छ। साथै सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका सेवाहरू पनि पुनः सक्रिय बनाइएको छ।
अस्पताल प्रशासनका अनुसार अति विपन्न, असहाय तथा अपाङ्ग बिरामीलाई स्थानीय तह वा वडा कार्यालयको सिफारिसमा उपचार शुल्कमा सहुलियत दिइनेछ। यस्तै अस्पतालमा चौबीसै घण्टा निःशुल्क फार्मेसी सेवा पनि सञ्चालनमा ल्याइएको छ।




