



काठमाडौँ। आजदेखि देशभरका चलचित्र हलमा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फागुन १ गतेबाट बिगुल, श्री बुकुरोः द होम कलिङ र शिवांशः च्याप्टर वान प्रदर्शनमा आएका हुन्।
राजनीतिक, पारिवारिक र सामाजिक–धार्मिक विषयवस्तुमा आधारित यी तीनै फिल्मको कथा, प्रस्तुति र शिल्प फरक–फरक रहेको छ।
राजनीतिक विकृति, अन्याय र त्यसविरुद्ध उठ्ने जनआवाजको कथामा आधारित फिल्म बिगुल को निर्देशन रमेश कोइराला ले गरेका हुन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी र शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहेको छ।
पारिवारिक कथामा आधारित श्री बुकुरोः द होम कलिङ आमाको दृष्टिकोणबाट परिवारभित्रका भावना र सम्बन्धलाई प्रस्तुत गर्ने फिल्म हो। फिल्मको मुख्य भूमिकामा लक्ष्मी गिरी देखिएकी छन्। साथै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, रामबाबु रेग्मी र उत्तम केसीलगायत कलाकारले अभिनय गरेका छन्।
धर्मको नाममा गरिने अपराध कर्मको कथामा आधारित फिल्म शिवांशः च्याप्टर वान मा जटा भएको अघोरी पात्रमार्फत भित्रभित्रै चल्ने आपराधिक गतिविधि देखाइएको छ। फिल्मको मुख्य भूमिकामा प्रवीण खतिवडा छन्। अन्य कलाकारमा तेज गिरी, विमला लिम्बु, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबीर चुरौटे, उदय कुमार सुब्बा र टीका निरौला रहेका छन्।
फिल्म शिवांशः च्याप्टर वान को निर्देशन सन्तोष कुमार आत्रेय ले गरेका हुन्। फिल्मको कथा अञ्जान केसी को रहेको छ भने पटकथा बारत लिम्बू ले लेखेका हुन्।
तीन फरक स्वादका यी नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।




