



धनगढी । निजी स्तरबाट धनगढीकै पहिलो कैलाली अस्पताल प्रालिले सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरूलाई स्वास्थ्य उपचार सेवा सुरु गरेको छ।
कोषसँगको सम्झौतापछि औपचारिक रूपमा उपचार सेवा सुरु गरेकाे अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए।
अस्पताल र सामाजिक सुरक्षा कोषबीच भएको सहकार्य सम्झाैतासँगै अब योगदानकर्ताहरूले अस्पतालबाट विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा तथा उपचार सुविधा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
अध्यक्ष जोशीका अनुसार कोषका योगदानकर्ताले सेवा प्राप्त गर्न सामाजिक सुरक्षा कोषको परिचयपत्र तथा आवश्यक कागजात साथमा ल्याउनुपर्ने छ। प्रचलित व्यवस्था अनुसार स्वास्थ्य सेवा तथा सुविधाको लाभ लिन सक्नेछन्।
उपचार सेवामा लाग्ने कुल खर्चको २० प्रतिशत रकम भने कोषको व्यवस्थाअनुसार लाभग्राही स्वयंले व्यहोर्नुपर्ने छ। यस सेवाको विस्तारसँगै कैलालीसहित सुदूरपश्चिम प्रदेशका हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
सामाजिक सुरक्षा कोषले देशभरका स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै योगदानकर्तालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने नीति अनुरूप कैलाली अस्पतालसँग पनि सेवा विस्तार गरेको जनाएको छ।
यसबाट उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने र स्थानीयस्तरमै सहज तथा गुणस्तरीय सेवा प्राप्त हुने विश्वास गरिएको छ।
कैलाली अस्पतालले २४ सै घण्टा इमरजेन्सी, शल्यक्रिया, फार्मेसी तथा एम्बुलेन्स सेवा सञ्चालनमा छन्। साथै मुटुरोग, हाडजोर्नी, नसा, मिर्गौला, छाला तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकमार्फत नियमित उपचार सेवा उपलब्ध गराइँदै आएको छ।
अस्पतालमा आईसीयू, एनआईसीयू, भेन्टिलेटर, भिडियो एक्स–रे, इकोकार्डियोग्राफी, इन्डोस्कोपी लगायतका अत्याधुनिक प्रविधिसहित परीक्षण तथा उपचार सेवासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ।
दूरबिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट शल्यक्रिया सेवा सञ्चालन गरिनु अस्पतालको अर्को विशेषता हो।
पछिल्लो समय सुदूरपश्चिमका विभिन्न जिल्लासँगै छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू उपचारका लागि कैलाली अस्पताल पुग्ने गरेका छन्। हाल ५० शैयाको क्षमतामा सञ्चालित अस्पताललाई निकट भविष्यमै १०० शैयामा विस्तार गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
कैलाली अस्पताल प्रालि जनकराज जोशी


