Logo
१४ असार २०८३, आईतबार

नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो अन्कोलोजी सम्मेलन सम्पन्न

अक्षरपाटी
२०८३ असार १४ , आईतबार ०२:०६ मा प्रकाशित

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ।

यही असार १२ र १३ गते आयोजित दुई दिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य विशेषज्ञहरूको सहभागिता रहेको थियो।

सहभागी विशेषज्ञहरूले मस्तिष्क ट्युमरको निदान, शल्यचिकित्सा तथा उपचारमा भएका पछिल्ला वैज्ञानिक प्रगति, आधुनिक प्रविधि तथा बहुविषयगत उपचार प्रणालीबारे आफ्नो अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए।

सम्मेलनको पहिलो दिन न्युरोनाभिगेसन, कनेक्टोमिक्स, इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङ लगायतका अत्याधुनिक प्रविधिमा केन्द्रित व्यावहारिक कार्यशालाहरू सञ्चालन गरिएका थिए।

दोस्रो दिन आयोजित वैज्ञानिक सत्रहरूमा मस्तिष्क ट्युमर उपचारका नवीनतम प्रविधि, चुनौती तथा भविष्यका सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

सम्मेलनका अवसरमा न्युरोसर्जरी तथा न्युरो-अन्कोलोजी क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै भारतका प्रा. वी. राजशेखर, प्रा. सुरेश नायर तथा नेपालका प्रा. गोपालरमण शर्मा, प्रा. प्रकाश बिष्ट, प्रा. बसन्त पन्त, प्रा. पवन कुमार र स्व. प्रा. यु.पी. देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै नर्भिक इन्टरनेशनल अस्पतालका संरक्षक बसन्तकुमार चौधरीले नेपालमा मस्तिष्क ट्युमर उपचारलाई अझ प्रभावकारी, आधुनिक र गुणस्तरीय बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै ‘न्युरो–अन २०२६’ यस दिशामा एक महत्वपूर्ण कोशेढुङ्गा भएको बताए।

आयोजक अध्यक्ष प्रा. डा. राजीव झाले सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सहभागी, सहयोगी संस्था तथा आयोजक टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता शैक्षिक कार्यक्रमले नेपालमा न्युरो-अन्कोलोजी सेवाको विकास, विशेषज्ञबीचको सहकार्य तथा बिरामी उपचारको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।