Logo
२३ असार २०८३, मंगलबार

मायाका प्याला

अक्षरपाटी
२०८३ असार २३ , मंगलबार ०७:०७ मा प्रकाशित

o प्रदिया राज्यलक्ष्मी शाह

तिमीलाई प्रेम गर्नु
मेरो निर्णय थिएन,
यो त कुनै शान्त रातमा
आकाशबाट झरेको
एउटा तारा जस्तै थियो,
जुन मेरो मनको अँध्यारोमा ओर्लियो
र उज्यालो भएर बसिरह्यो।

त्यस दिनदेखि
मेरो हृदयमा एउटा अदृश्य प्याला छ…
कुनै धातुले होइन,
विश्वासले कुँदिएको,
आशाले सजिएको,
समर्पणले भरिएको।

जसमा
म हरेक दिन
तिम्रा सम्झनाहरू भरिरहेकी छु।

हो, प्रिय !
तिम्रो मधुर स्मृतिका एक-एक थोपा,
तिम्रो आवाजको एक घुट्की,
तिम्रो उपस्थितिको अनुपम सुगन्ध,
हाम्रा प्रेमिल अनुभूतिहरूको
अमृतमय मिठास !

अचम्म त के छ भने…
म जति पिउँछु
प्याला उति नै भरिँदै जान्छ।

कवि : प्रदिया राज्यलक्ष्मी शाह

साहेब !
मायाका प्याला
यस्तै हुन्छन् सायद,
कहिल्यै नरित्तिने
कहिल्यै नसिद्धिने
बरु जति प्रेम निस्वार्थ हुन्छ
त्यति नै ती अनन्त हुँदै जान्छन्,
मिठास झन्-झन् गहिरिँदै जान्छ।

जब संसार
थकित भएर निदाउँछ,
म तिम्रो सम्झनामा जागिरहन्छु,
र मायाका प्यालामा
तिनै सम्झनाका अधर चुमेर
प्रेम पिइरहन्छु।

त्यो स्वादमा
विरह पनि छ,
आशा पनि छ,
आँसु पनि छन्,
उत्साह पनि छ,
अनि छ एउटा यस्तो मिठास छ
जुन शब्दले कहिल्यै व्यक्त गर्न सक्दैन।

साहेब !
म तिमीलाई
ऋतुझैँ होइन,
जो आएर जान्छ।
म तिमीलाई
आकाशझैँ प्रेम गर्छु,
जो टाढा रहे पनि
मेरो सम्पूर्ण अस्तित्वमाथि
निरन्तर फैलिरहन्छ।
र आफ्नो नीलो विस्तारले
मलाई सधैँ अँगालिरहन्छ।

कुनैदिन
तिमी मसँगै हुँदा
म मेरो हृदयको त्यो प्याला
सामुन्ने राख्नेछु
र,
तिम्रो हात समाउँदै
भन्नेछु…

आऊ,
हामी दुनियाँका सबै कोलाहलहरू
बाहिरै छोडिदिऔँ,
समयलाई पनि
ढोकाबाहिर पर्खाइमा राखिदिऔँ।

एकअर्काको आँखाभित्र बसेर
मायाका यी प्यालाबाट
सँगै प्रेम पिऔँ।

(मोफसललाई सिर्जनाभूमि बनाएर साहित्य साधनामा समर्पित कवि शाह नेपाली साहित्यकी सशक्त हस्ताक्षर हुन्। )

कविता प्रदिया राज्यलक्ष्मी शाह
यो पनि हेर्नुहोस् : तिमी मेरो पहिलो प्रेमी हौ