Logo
३२ असार २०८३, बिहीबार

करिब दुई वर्ष अस्पतालमा बिताएकी बन्दना लिम्बु घर फर्किइन्, निसर्ग अस्पतालले ३१ लाख ६१ हजारभन्दा बढी उपचार खर्च मिनाहा

अक्षरपाटी
२०८३ असार ३२ , बिहीबार ०५:०७ मा प्रकाशित

धनगढी। सुदूरपश्चिमबाट एउटा यस्तो उदाहरण सार्वजनिक भएको छ, जसले स्वास्थ्य सेवा केवल व्यवसाय नभई मानवीय सेवासमेत हुन सक्छ भन्ने सन्देश दिएको छ।

डडेल्धुराकी बन्दना लिम्बु, जसले करिब दुई वर्ष अस्पतालमै बसेर जीवन र मृत्युबीचको कठिन संघर्ष गरिन्, अन्ततः स्वास्थ्यमा सुधारपछि घर फर्किएकी छन्। उनको उपचारमा अस्पताल तथा औषधितर्फ बाँकी रहेको रु ३१ लाख ६१ हजार ७७८ निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., धनगढीले पूर्ण रूपमा मिनाहा गरेको छ।

यस विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत अस्पतालले उपचारको सम्पूर्ण यात्रा, आर्थिक सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको निर्णय सार्वजनिक गरेको हो।

बन्दना २०८१ साल साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएकी उनलाई थप विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढीमा रिफर गरिएको थियो।

अस्पतालमा भर्ना भएको भोलिपल्ट नै उनको पहिलो शल्यक्रिया गरिएको थियो। त्यसयता विशेषज्ञ चिकित्सकहरूको निरन्तर निगरानीमा दुई वटा मेजर तथा आवश्यक माइनर शल्यक्रिया, आईसीयू सेवा, सघन नर्सिङ, औषधि उपचार, फिजियोथेरापी तथा पुनःस्थापना उपचार निरन्तर सञ्चालन गरिएको अस्पतालले जनाएको छ।

१ वर्ष ११ महिना १ दिन अस्पतालमै उपचाररत रहेकी बन्दनाले अन्ततः स्वास्थ्यमा सुधार गर्दै घर फर्किन सफल भएकी हुन्।

लामो उपचारका कारण उपचार खर्च अत्यधिक बढे पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि अस्पतालले अस्पताल सेवा तथा औषधितर्फ बाँकी रहेको रु ३१ लाख ६१ हजार ७७८ मिनाहा गरेको जनाएको छ। अस्पतालले घर फर्किँदा उनको दैनिक आवतजावत र जीवनयापन सहज बनाउन एक थान आरामदायी ह्विलचेयर समेत सहयोगस्वरूप हस्तान्तरण गरेको छ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले स्वास्थ्य सेवा नाफाभन्दा माथि मानवीय संवेदनासँग जोडिएको क्षेत्र भएकाले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राख्दै आएको बताए।

उनले भने, ‘हरेक बिरामीका पछाडि एउटा परिवारको सपना, पीडा र आशा जोडिएको हुन्छ। आर्थिक अभावकै कारण कुनै बिरामी उपचारबाट वञ्चित नहोस् भन्ने हाम्रो सदैव प्रयास रहन्छ। बन्दना लिम्बुको उपचारमा गरिएको खर्च मिनाहा कुनै प्रचारको विषय होइन, यो हाम्रो सामाजिक दायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको अभ्यास हो।’

अध्यक्ष पन्तले निसर्ग अस्पतालले स्थापना कालदेखि नै आर्थिक रूपमा विपन्न, असहाय तथा दीर्घकालीन उपचार आवश्यक पर्ने बिरामीलाई आफ्नो सामर्थ्यअनुसार सहुलियत, छुट तथा निःशुल्क उपचार प्रदान गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिइने बताए।

पत्रकार सम्मेलनमा अस्पतालले बन्दना लिम्बुको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, फिजियोथेरापिस्ट, सहयोगदाता, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेको थियो।

सुदूरपश्चिममा आधुनिक तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ सञ्चालनमा रहेको निसर्ग अस्पतालले पछिल्ला वर्षहरूमा जटिल शल्यक्रिया, आपत्कालीन सेवा, दीर्घकालीन उपचार, सामाजिक स्वास्थ्य अभियान तथा आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहजीकरण गर्दै आएको जनाएको छ।

बन्दना लिम्बुको उपचार यात्रा एउटा बिरामीको स्वास्थ्य लाभको कथा मात्र होइन, स्वास्थ्य सेवामा चिकित्सकीय दक्षता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्व एकसाथ जोडिँदा एउटा जीवनलाई नयाँ आशा दिन सकिन्छ भन्ने सशक्त उदाहरण बनेको छ।

उपचार खर्च मिनाहा निसर्ग अस्पताल

ट्रेन्डिङ ( साप्ताहिक )