


काठमाडौं । २१ वर्षअघि घाँटीको बायाँ भागमा देखिएको सानो डल्लोलाई सामान्य समस्या ठानियो। समयसँगै त्यो डल्लो बढ्दै गयो। दुईपटक शल्यक्रिया गर्ने तयारी भए पनि जोखिम र अन्य कारणले रोकियो। अन्ततः ७१ वर्षीया एक महिलाको उक्त डल्लो मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर रहेको पुष्टि भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल शल्यक्रिया गरिएको छ।
नर्भिक अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सक टोलीले असार २५ गते करिब सात घण्टा लामो शल्यक्रिया गरेर बिरामीको ट्युमर सफलतापूर्वक निकालेको हो।
शल्यक्रियामा डा. पुरुषोत्तम बानियाँ र डा. समीर अर्याल सहभागी थिए भने एनेस्थेसियातर्फ डा. सुरेश लामिछानेसहितको टोली खटिएको अस्पतालले जनाएको छ।
डा. भण्डारीका अनुसार बिरामीको घाँटीको बायाँ भागमा रहेको ट्युमर भर्टिब्रल आर्टरी वरपरका नसाबाट उत्पन्न भएको अत्यन्तै दुर्लभ भास्कुलर ट्युमर थियो। यस्तो ट्युमरको स्थान संवेदनशील हुने भएकाले शल्यक्रिया निकै जटिल मानिन्छ।

‘ट्युमरको आकार ठूलो भइसकेको थियो। त्यसका कारण बिरामीमा श्वासप्रश्वासमा समस्या, बेलाबेला अचेत हुने, शरीर झम्झमाउने र टाउको हल्लाउँदा चक्कर लाग्ने लक्षण देखिन थालेका थिए,’ डा. भण्डारीले भने, ‘शल्यक्रिया सफल भएको छ र अहिले बिरामीको अवस्था सामान्य छ।’
शल्यक्रियाका क्रममा रक्तस्राव कम गर्न चिकित्सकहरूले भर्टिब्रल आर्टरीलाई विशेष प्रविधिबाट स्थानान्तरण (ट्रान्सपोजिसन) गरेका थिए। आवश्यक परे मस्तिष्कको रक्तसञ्चार कायम राख्न बाइपास गर्ने तयारीसमेत गरिएको भए पनि त्यसको आवश्यकता नपरेको डा. भण्डारीले जानकारी दिए।
शल्यक्रियापछि बिरामीलाई डा. प्रदीप तिवारीको नेतृत्वमा रहेको क्रिटिकल केयर टोलीले आईसीयूमा निगरानीमा राखेको थियो। स्वास्थ्य अवस्था स्थिर भएपछि दुई दिनमै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
२१ वर्षको पीडा
बिरामीका परिवारका अनुसार २१ वर्षअघि घाँटीमा सानो मासुको डल्लो देखिएको थियो। सुरुमा सामान्य समस्या ठानेर उपचार गरिएन। बिस्तारै डल्लो ठूलो हुँदै गयो।
२०७२ सालतिर परीक्षण गर्दा चिकित्सकहरूले मस्तिष्कतर्फ जाने प्रमुख धमनीसँग जोडिएको भागमा ट्युमर रहेको र शल्यक्रिया गर्नुपर्ने बताएका थिए। त्यसपछि अर्को अस्पतालमा रेफर गरिए पनि शल्यक्रियाका क्रममा पक्षघात वा मृत्युको जोखिम हुन सक्ने जानकारी पाएपछि परिवार पछि हट्यो।
केही वर्षपछि अर्को अस्पतालमा फेरि शल्यक्रियाको तयारी भयो। तर प्राविधिक कारणले त्यो पनि स्थगित भयो। त्यसपछि केही महिना थेरापी गरिए पनि समस्या समाधान भएन।
यसबीच ट्युमर बढ्दै जाँदा बिरामीलाई टाउको अत्यधिक दुख्ने, चिटचिट पसिना आउने, अचेत हुनेजस्तो महसुस हुने, शरीर झम्झमाउने र घाँटी बाँधिएजस्तो हुने समस्या थपिँदै गएको परिवारले जनाएको छ।
आधुनिक प्रविधिले सम्भव बनायो उपचार
अस्पतालका अनुसार अत्याधुनिक अप्रेसन थियटर, आईसीयू सुविधा तथा अनुभवी न्युरोसर्जिकल टोलीको समन्वयका कारण यस्तो दुर्लभ र जटिल ट्युमरको सफल शल्यक्रिया सम्भव भएको हो।
नियमित फलोअपका लागि साउन ५ गते अस्पताल पुगेकी बिरामीले आफू अहिले सहज महसुस गरिरहेको बताएकी छन्।
‘यति वर्षदेखि बोकेको समस्या अन्ततः हट्यो। सबै चिकित्सक र अस्पतालप्रति आभारी छु,’ उनले भनिन्।
काठमाडौं नर्भिक अस्पताल

