Logo
१८ भदौ २०८३, बिहीबार

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

अक्षरपाटी
२०८३ भदौ १८ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।

होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीजलगायत संस्थाका तर्फबाट बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो ।

होल्डिङ्सकी प्रबन्ध निर्देशक एवं नर्भिककी निर्देशक मेघा चौधरीसहित नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, सीईओ अजयकुमार मिश्र र नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरे ।

चौधरीले विपद्को समयमा सरकारमार्फत सञ्चालन हुने राहत तथा पुनर्निर्माणका काममा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरिएको बताइन् ।

‘सहयोग रकम आफैंमा धेरै ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास लिएका छौं,’ उनले भनिन् ।

उनले विपद्को यस कठिन परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् ।

यसअघि होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आबद्ध संस्थाहरूबाट ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो ।

होल्डिङ्सले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढी प्रभावित बीएलसी ग्लोबल होल्डिङ्स सहयोग

ट्रेन्डिङ ( साप्ताहिक )