अछाम। अछाम जिल्लाको चार स्थानमा संचालित आँखा शिविरमा ३ हजार ८५ जनाले आँखा उपचार सेवा लिएका छन्।
सेवा लिनेमध्ये ४ सय ७३ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरेर लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ।
शिविरमा २ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको थियो। शिविरमा २ हजार ६ सय १० जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो।
स्थानीय पालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ह्यामर रोटरी क्लब नर्वे, सेभा नेपाल, तेजकोहली रुईत फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।
शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेकाहरुले पुनः दृष्टि पाउँदा हर्षित भएका थिए।
गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं बरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेश राज पन्त र नेत्र विशेषज्ञ डा अनीस मानन्धर समेत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए।
शिविरहरु बयालपाटा अस्पताल, बयालपाटा स्वास्थ्य चौकी तुर्माखाँड, पंचदेवल क्याम्पस बिनायक र शोडषा मावि मंगलसेनमा संचालन गरिएका थिए।
शिविरहरुमा नगरपालिका र गाउँपालिकाका कर्मचारी, पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आइरहेको वाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए।