काठमाडौं। अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनका अवसरका रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
अग्रज कलाकार श्रेष्ठले जीवनका ७३ वशन्त पुरा गरी ७४ वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रोटरी क्लब अफ एलः, नेपाल खरबुद रोग निवारण शाखा ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर १६ ले मुख्य आयोजना गरेको रक्तदान कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौं सोसियल सर्कल, लाइन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, ब्लडमाण्डु, ग्रिन भ्याली ग्रीन नेपाल, रेडियो अडियो, आईसीआईलगायत संस्था सहयोगी भूमिकामा रहेको लाइन्स क्लब अफ काठमाडौं सोसियल सर्कल प्रेसिडेन्ट लक्ष्मी दनुवार राईले बताइन्। सो अवसरमा दुई दर्जनभन्दा बढीले रक्तदान गरेको उनले जानकारी दिइन्।
सर्वस्वीकार्य र सबैले सम्मान गर्ने कलाकार श्रेष्ठको जन्मदिनका अवसरमा रक्तदानजस्तो कार्यक्रम गरेर समाजमा सकारात्मक सन्देश दिन खोजेको कार्यक्रमको संयोजन गरेका समाजसेवी किरण श्रेष्ठले बताए।
पछिल्लो समय विदेशी संस्कार र सँस्कृतिलाई पच्छ्याइरहेका बेला समाजले पत्याएका व्यक्तिको अगुवाइमा सामाजिक काम गर्दा अरुका लागि पनि प्रेरणा हुने भएकाले रक्तदान जस्तो महादान कार्यक्रममा आफूहरुले पनि हातेमालो गरेको रोटरी क्लब अफ यलः की सर्विस प्रोजेक्ट चेयरम्यान तथा समाजसेवी स्वरुपमा श्रेष्ठले बताइन्।
आफै कार्यक्रममा उपस्थित भएर अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले रक्तदाताहरुलाई हौसला प्रदान गरेका थिए।
रक्तदातालाई ग्रीन भ्याली ग्रीन नेपालले उपहार स्वरुप बिरुवा प्रदान गरेको थियो। आयोजकका तर्फबाट रक्तदातालाई सम्मानपत्र प्रदान गरिएको थियो।