Logo
१३ वैशाख २०८१, बिहीबार

बबिताको पुस्तक ‘समय साक्षी’

अक्षरपाटी
२०७९ भदौ १८ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाडौं। पत्रकारिता र साहित्यमा समानान्तर कलम चलाइरहेकी बबिता बस्नेतको संस्मरणात्मक कृति ‘समय साक्षी’ लोकार्पण भएको छ।

नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर हिमालय शमशेर राण, साहित्यकार भुवन ढुंगाना र बस्नेतका मातापिताले एकसाथ लोकार्पण गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै राणाले भने, ‘बबिताजीका विशेष गरी विदेश यात्राका छोटा र चिताकर्षक संस्मरणहरूले पुस्तकलाई पठनीय बनाएको छ। समाजिक र सांस्कृतिक जीवनको पाटोका चर्चा पनि भएकोले सबै पाठकले आफूलाई बबिताको समय साक्षीको रूपमा पाउनेछन्।’

अर्का वक्ता साहित्यकार भुवन ढुंगानाले बबिता बस्नेतका संस्मरणले हरेक व्यक्तिलाई आफ्नो जीवनका पाइला र कर्महरू सम्झन झक्झक्याउने बताइन्। उनले भनिन्, ‘संस्मरणहरू छोटा छन् तर सरल भाषामा लेखिएका सचित्र वर्णनजस्ता लाग्छन्।’

लेखक बस्नेतले आफ्नो पहिलो कथा सङ्ग्रह प्रकाशन भएको १५ वर्षपछि प्रकाशन भएको यो कृतिमा विशेष गरी आफूले विदेश यात्राका क्रममा देखेभोगेका सम्झनालाई उतारेको बताइन्। उनले भनिन्, ‘मैले भोगेको समयमा सम्झनाका साक्षी विम्बहरूलाई मैले यस पुस्तकमा उतार्ने कोसिस गरेकी छु।’

दरबारदेखि घरबार र परदेशदेखि घरदेशसम्मका एक व्यक्तिका जीवनका संस्मरणलाई चित्रण गरिएको पुस्तक ‘समय साक्षी’ बुकहिलले प्रकाशन गरेको हो। २३४ पृष्ठको पुस्तकको हार्डकभरको मूल्य ५०० र पेपर व्याकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।