Logo
१२ वैशाख २०८१, बुधबार

सेती अस्पतालमा अब विस्तारित सेवा, बिरामीलाई सजिलो

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार १०:०२ मा प्रकाशित

धनगढी १६ फागुन। धनगढीमा रहेको सुदूरपश्चिमकै हालसम्मको ठूलो सेती प्रादेशिक अस्पतालमा विस्तारित सेवा सुरु भएको छ।

आजबाट सुरु भएको सेवासँगै यहाँ उपचारका लागि आउने बिरामीले दिउँसो ३ बजेपछि पनि ओपिडी सेवा लिन पाउने भएका छन्।

यसअघि दिउँसो नपाइने ओपिडि र अन्य उपचार सेवा अब न्यूनतम शुल्क तिरेर लिन सकिने भएको हो। विस्तारित सेवा अन्तर्गत अब ओपिडी, प्रयोगशाला सेवा र शल्यक्रिया समेत पाइने भएको छ।

सरकारी अस्पतालमै अब न्यूनतम शुल्क तिरेर सेवा पाइने भएपछि निजीमा चर्को शुल्क तिरेर उपचार गराउनुपर्ने वाध्यता केही कम हुने भएको छ।

विस्तारित सेवा शनिवार र सरकारी बिदाका दिन बाहेकका दिन ३ बजेदेखि सँधै प्राप्त हुने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले जानकारी दिए।

विस्तारित सेवाको टिक दिउँसो २ बजेदेखि साँझ ४ बजेसम्म पाइने छ। विस्तारित सेवाका लागि टिकट लिएका बिरामीले ८ दिनसम्म परामर्श सेवा लिन आउँदा थप दस्तुर लाग्ने छैन।

विस्तारित स्वास्थ्य सेवामार्फत सेवा लिने बिरामीले स्वास्थ्य बीमा तथा सामाजिक सेवा इकाईमार्फत प्राप्त हुने सुविधा भने नपाउने अस्पतालले जनाएको छ।

विस्तारित अस्पताल सेवा अन्तर्गत बिरामीले परामर्श शुल्क ४ सय तिर्नुपर्ने छ। प्रयोशाला र शल्यक्रिया शुल्क निजी अस्पतालकोभन्दा कम लाग्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेले बताए।

लामो प्रतिक्षापछि विस्तारित अस्पताल सेवा दिन अस्पताल सक्षम भएको अस्पतालका अध्यक्ष नरबहादुर शाहले बताए।

सेती प्रादेशि अस्पतालका डाक्टरहरुले निजी क्लिनिक र निजी अस्पतालमा दिने सेवालाई अस्पतालमै रोक्न सके यहाँका जनताले उपचारका लागि निजी सँस्थामा महंगो भार खेप्नु नपर्ने सरोकारवालाको भनाइ छ।

सेती प्रादेशिक अस्पताल