

कैलाली ९ चैत। कैलालीमा सञ्चालित आँखा शिविरहरुमा कम्तिमा २४ सय सेवाग्राहीले उपचार पाएका छन्।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल, रोटरी क्लब अफ बाँके र अस्ट्रेलियाको आयोजना तथा स्थानीय पालिकाहरुसँगको सहकार्यमा सञ्चालित आँखा शिविरमा २ हजार ४ सय १४ जनाले आँखा उपचार पाएका हुन्।
चैत ६ गतेदेखि ८ गतेसम्म कैलालीको ३ स्थानमा संचालित शिविरमा सो संख्यामा आँखाका बिरामीले सेवा लिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।
तीमध्ये २५० जनालाई तेज कोहली रुईत फाउण्डेसनको सहयोगमा मोतिविन्दुको निःशुल्क अप्रेशनका लागि गेटा आँखा अस्पताल टीकापुर, आँखा उपचार केन्द्र धनगढी र गेटा आँखा अस्पतालमा पठाएर अप्रेशन भइरहेको छ।
आँखा शिविरहरुमा १५ सय ८५ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको र अन्यलाई औषधि उपचार गरिएको भट्टले जानकारी दिए।
शिविरहरु लम्कीचुहा नगर पालिका ९ प्रतापपुर, बर्दगोरिया गाउँपालिका ४ र कैलारी गाउँपालिको हसुलियामा संचालन गरिएको थियो।
तीं शिविरहरुमा सेवा लिनेमध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकेर शिविरको पर्खाइमा रहेका बिरामी भएको बताइएको छ।
गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्ट सहभागी भएको शिविरमा गेटा आँखा अस्पताल तथा रोटरी क्लब अष्टे«लिया र बाँकेका गरी २५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरमा स्थानीय पालिकाका पदाधिकारीहरु, रोटरी क्लबका पदाधिकारीहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुले व्यवस्थापनमा योगदान पुर्याएका थिए।
यस प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई शिविर संचालन गर्दै आएको छ।
गेटा आँखा अस्पताल


