

कैलाली । कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीको जोरायल गाउँपालिकामा व्यावसायिक सुन्तला खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम सुरु गरेको छ।
सहकारीले सुन्तला पकेट क्षेत्रका रूपमा चिनिएको जोरायल गाउँपालिकामा रहेका आप्ना ४५ जना कृषक सदस्यलाई लक्षित गर्दै २ दिने व्यावसायिक सुन्तला उत्पादनसम्बन्धी तालिम आयोजना गरेको हो।
परम्परागत रूपमा सुन्तला खेती गर्दै आएका कृषकहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यावसायिक कृषकका रूपमा विकास गरी आम्दानी बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ।

सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहका अनुसार तालिममार्फत कृषकहरूले सुन्तलाका बोट उत्पादन, संरक्षण, बजारीकरणसम्मको व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गर्नेछन्। तालिममा कृषि विकास प्रमुख प्रदीप साउँद, कृषि प्राविधिक रामसिंह बोहरा तथा प्रशिक्षक किरणकुमारी चौधरीले सहजीकरण गरेका थिए।
तालिम उद्घाटन समारोह सहकारीका जोरायल शाखा प्रमुख भोजराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी कृषकहरूले यस्तो तालिमले स्थानीय स्तरमा उत्पादन वृद्धि हुनुका साथै आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।
२०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्थाले हाल ३ वटा व्यावसायिक युनिटमार्फत सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका ९३ हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको छ।




