Logo
१७ जेठ २०८३, आईतबार

युवा लक्षित सुर्ती उद्योगको नयाँ रणनीतिप्रति सचेत रहन मन्त्री मेहताको आग्रह

अक्षरपाटी
२०८३ जेठ १७ , आईतबार ११:०५ मा प्रकाशित

काठमाडौं । विश्व सुर्तिजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आम नेपाली नागरिक, विशेषगरी युवा तथा किशोर–किशोरीलाई सुर्तिजन्य पदार्थको प्रयोगबाट टाढा रहन आग्रह गरेकी छन्।

मन्त्री मेहताले सुर्तिजन्य पदार्थको प्रयोग विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै नेपालमा झनै विकराल भएको बताइन्।

उनले अझै करिब २९ प्रतिशत मानिसले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको बताउँदै हरेक वर्ष सुर्तिजन्य पदार्थको सेवनका कारण ३९ हजारभन्दा बढी नेपालीको मृत्यु हुने गरेको बताइन्। जुन अत्यन्त दुःखद र चिन्ताजनक अवस्था हो।

मन्त्री मेहताले वर्तमान समयमा युवा वर्ग र किशोर–किशोरीलाई लक्षित गरी सुर्ती उद्योगहरूले अपनाइरहेको नयाँ रणनीतिप्रति विशेष चिन्ता व्यक्त गरिन्।

आकर्षक डिजाइन, विभिन्न स्वाद तथा सामाजिक सञ्जालमार्फत गरिने भ्रमपूर्ण प्रचारप्रसारका कारण युवाहरू सुर्तिजन्य तथा निकोटिनयुक्त उत्पादनतर्फ आकर्षित भइरहेको उनले बताइन्।

मन्त्री मेहताले ई–सिगरेट, भेप तथा हुक्का जस्ता उत्पादनहरू पनि परम्परागत चुरोट वा अन्य सुर्तिजन्य पदार्थसरह हानिकारक रहेको स्पष्ट पारिन्।

यस्ता उत्पादनमा निकोटिन तथा अन्य विषाक्त तत्वहरू हुने भएकाले प्रयोगकर्तालाई लतमा फसाउने र फोक्सो, कलेजो तथा मुटुसम्बन्धी गम्भीर रोग निम्त्याउने जोखिम रहने उनको भनाइ छ।

उनले सुर्तिजन्य पदार्थको असर प्रयोगकर्तामा मात्र सीमित नरही वरपर रहेका व्यक्तिको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइन्।

मन्त्री मेहताले सुर्तिजन्य पदार्थका विद्यमान तथा उदीयमान चुनौतीहरूको सामना गर्न नेपाल सरकारले नियन्त्रण तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको जानकारी दिइन्।

सरकारको अभियानलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकार, सामाजिक अगुवा, शैक्षिक संस्था, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायलाई हातेमालो गर्न उनले हार्दिक अपिल गरेकी छन्।

मन्त्री निशा मेहता

ट्रेन्डिङ ( साप्ताहिक )