Logo
१५ असार २०८३, सोमबार

सरकारद्वारा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

अक्षरपाटी
२०८३ असार १५ , सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौं। सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे काठमाडाैं केन्द्रित अनुगमनलाई तीव्र पारिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो।

अनुगमनमा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको छ।

अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ। मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ।

यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ। बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ।

यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्‍याइएको पाइएको छ।

अस्पतालमा क्युआर प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन्।

मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

अनुगमन मन्त्री निशा मेहता

ट्रेन्डिङ ( साप्ताहिक )