


धनगढी । धनगढीस्थित कृष्ण मन्दिर व्यवस्थापन समितिले सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न अनुरोध गर्दै पत्र दिएको छ।
व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई पत्र हस्तान्तरण गरिएको पुष्टि गर्दै उनी बस्ने उद्देश्यले धर्मशालामा आएको जानकारी दिए पनि पूर्वसूचना बिना त्यहीँ सत्याग्रह सुरु गरेको बताए।
‘उहाँ बास बस्न आउनुभएको थियो, तर कुनै जानकारी बिना अनसन बस्नुभयो। धार्मिक संस्थामा अनसन गर्न दिएको भन्दै विभिन्न पक्षबाट दबाब आउन थालेपछि धर्मशाला छाड्न अनुरोध गरेका हौं,’ अध्यक्ष पन्तले भने।
दबाब कसबाट आएको हो भन्ने विषयमा भने अध्यक्ष पन्तले खुलाउन चाहेनन्। बिहीबार बिहान अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले पनि डा. केसीलाई धर्मशालामा अनसन बस्न नदिन व्यवस्थापन समितिसँग अनुरोध गरेका थिए।
उता, डा. केसीका सहयोगी डा. अमृत जैशीले धर्मशालामा बस्ने विषयमा पूर्व जानकारी दिइएकै भए पनि अहिले व्यवस्थापन समितिले किन स्थान छाड्न भनेको भन्ने स्पष्ट जानकारी नदिएको बताए। उनका अनुसार पत्र प्राप्त भएपछि डा. केसी पक्षले सत्याग्रहलाई निरन्तरता दिन अन्य उपयुक्त स्थानबारे छलफल गरिरहेको छ।
डा. गोविन्द केसी विभिन्न पाँच बुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा अनिश्चितकालीन सत्याग्रह मा छन्।
डा. गोविन्द केसी सत्याग्रह

