



धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलालीमा दुई वरिष्ठ चिकित्सकले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारीले खुलातर्फ र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेशागत विषय विज्ञ समूहतर्फ उम्मेदवारी घोषणा गरेका हुन्।
स्वास्थ्य क्षेत्रमा दशकौँदेखि सेवा प्रदान गर्दै आएका दुवै चिकित्सक सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।
खुलातर्फ डा. अन्सारीको उम्मेदवारी
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा वरिष्ठ जनरल सर्जनका रूपमा कार्यरत डा. मेराज आलम अन्सारीले कांग्रेसको महाधिवेशन प्रतिनिधिमा खुलातर्फ उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नो उम्मेदवारीमार्फत पार्टी संगठनलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउन भूमिका खेल्ने उद्देश्य रहेको डा. अन्सारीले बताएका छन्।
डा. अन्सारी सर्जिकल सोसाइटी अफ नेपाल (SSN) सुदूरपश्चिम च्याप्टरका अध्यक्षसमेत हुन्।
पेशागत समूहबाट डा. मिश्रको उम्मेदवारी
यसैगरी नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विषय विज्ञ समूहबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
डा. मिश्रले स्वास्थ्य क्षेत्रमा हासिल गरेको लामो अनुभव, चिकित्सक समुदायको नेतृत्व तथा पेशागत आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
आफूले स्वास्थ्य क्षेत्रमा हासिल गरेको ज्ञान र अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने, पेशागत समुदायको आवाजलाई लोकतान्त्रिक मूल्यका आधारमा संस्थागत गर्ने तथा पार्टी संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
डा. मिश्र नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका पूर्व सचिव तथा पूर्व अध्यक्ष हुन्। उनले लोकतान्त्रिक चिकित्सक संघको प्रदेश संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
कांग्रेस महाधिवेशन महाधिवेशन नेपाली कांग्रेस

