Logo
२१ भदौ २०८२, शनिबार

नियान्डरथलको आगो सभ्यता

अक्षरपाटी
२०८२ साउन ६ , मंगलबार ०१:०७ मा प्रकाशित

ओ ! आगोको प्रथम प्रयोगकर्ता नियान्डरथल,
कुन अभिप्रेरणाले तिमीले आगो पत्ता लगायौ ?

र,
सभ्यताको आदिम इतिहासलाई सुनौलो भविष्यतिर डोर्यायाै ?
तिमीले आगो पत्ता नलगाएको भए,
के वैदिक स्रस्टाहरूले आगो पार्ने मन्त्र लेख्थे र ?
के आर्यहरुले अग्न्यास्त्र कल्पन्थे र ?
के पश्चिमी मिथकमा आगो चोर्ने देवता जन्मन्थे र ?
के बालकृष्ण समजीले आगो र पानी खन्डकाव्य लेख्थे र ?
आइन्स्टाईनको इ= एमसी स्क्वायरको सिद्धान्तमा पनि आगोकै बीजरूप देखिन्छ नी

यसकारण ! आगोको आरनमा तिमी,
सभ्यताको महानायक हौ,
सभ्यताको शिलखानामा तिमी,
अग्नि गायक हौ,
त्यसैले त सभ्यताको अग्निवेदीमा,
तिमीलाई सम्झिरहेको छु,
त्रासद हिमयुगको अन्त्यपछि,
क्याम्प फायर गरिरहेको छु,
ठकठक ठकठक ठोक्किंदा पाषाण औजार !
आगोका झिल्काहरु झल्कियो र त !
तिम्रो आदिम चेतना आगोसंग खेल्नसक्यो !
हे अग्निपूजक निया्न्डरथल !
हे अग्नि सर्जक नियान्डरथल !

आगोको यज्ञवेदिमा म
अग्निमिडे पुरोहितम् को राग अलापिरहेको छु !!
अग्निमिडे पुरोहितम् को राग अलापिरहेको छु !!
तिमीले पत्ता लगाएको आगो,
मृत्यु बनेर बज्रियो जापानको नागाशाकि र हिरोसिमामा,
इराक र युक्रेनमा,
आजपनि
अमेरिका र रुसको अणुभट्टिमा
आगो उत्पादन हुंदैछ महाकाल समान,


अहंकारको अग्नियुद्धमा आगो सभ्यता नासिंदै गर्दा,
म भने विश्वशान्तिको कामना गर्दैछु,
नियान्डरथललाई सम्झेर
ॐ अग्नाय स्वाहाको आलापमा,
अग्निमिडे पुरोहितम् को आलापमा
नियान्डरथल गुन्जिन्छ महान आविस्कारक बनेर
किनभने नियान्डरथलको आगो विनासको लागि थिएन,
सिर्जनाको लागि थियो
नियान्डरथलको आगो सभ्यता
नियान्डरथलको आगो सभ्यता !!

कविता नियान्डरथलको आगो सभ्यता वेदिका वन्दना
यो पनि हेर्नुहोस् : के म साँच्चै मूर्ख हुँ ?