Logo
१५ वैशाख २०८३, मंगलबार

धनगढी हाफ म्याराथन वैशाख १८ मा, लक्की ड्रबाट ३ जनालाई निसर्गमा निशुल्क स्वास्थ्य सेवा

अक्षरपाटी
२०८३ वैशाख १५ , मंगलबार ०४:०४ मा प्रकाशित

कैलाली । धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी जेसिजको आयोजनामा वैशाख १८ गते प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

हरेक वर्ष वैशाख १ गते हुँदै आएको प्रतियोगिता यस वर्ष भने वैशाख १८ मा सारिएको धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझा ले जानकारी दिए । उनका अनुसार “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ १२औँ संस्करणको तयारी तीव्र पारिएको छ ।

प्रतियोगिताको उद्घाटन बिहान ६ बजे धनगढी रंगशालाबाट मुख्यमन्त्री कमल बहादुर शाह ले गर्ने कार्यक्रम छ । दौडको दूरी २१.१ किलोमिटर रहनेछ, जसमा रंगशालाबाट सुरु भई गेटा मेडिकल कलेज हुँदै पुनः रंगशालामै पुगेर समाप्त हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, दोस्रो हुनेले ५५ हजार ५ सय ५५ र तेस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् । साथै ५ किलोमिटर महिला तथा कर्पोरेट दौड पनि आयोजना गरिनेछ, जसका विजेतालाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितालाई यस वर्ष लागूऔषधविरुद्धको जनचेतनामूलक अभियानका रूपमा समेत अगाडि बढाइएको छ । सबैभन्दा बढी रक्तदान गर्ने दीपक उपाध्यायलाई विशेष आकर्षणका रूपमा राखिएको आयोजकले जनाएको छ ।

यसैबीच, प्रतियोगितामा सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पुरस्कार दिने व्यवस्था गरिएको छ । साथै, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि ले सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका ३ जनालाई निशुल्क जनरल हेल्थ पाकेज उपलब्ध गराउने जनाएको छ ।

जेसिज