Logo
६ पुस २०८१, शनिबार

सत्याग्रही डा केसीद्वारा थप उपचारका लागि काठमाडौं जान अस्वीकार, स्वास्थ्य अवस्था कमजोर

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०८:०९ मा प्रकाशित

धनगढी। चिकित्सा क्षेत्रको सुधारका लागि नौ दिनदेखि धनगढीमा अनशनरत सत्याग्रही प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन्। उनले सरकारद्वारा गरिएको आग्रह अस्वीकार गरेका हुन्।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको स्काइ ट्रक आज धनगढी पुगेको थियो।

तर उनले काठमाडौं जान अस्वीकार गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। उनले भने, “उहाँको स्वास्थ्य बचाउनुपर्ने छ, तर उहाँले काठमाडौँ नजाने अडान राखिरहनुभएको छ।”

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २० औँ पटक धनगढीको गीत सत्संग भवनमा उनी अनशन बसेका थिए। स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ।

अस्पतालका फिजिसिएन डा शेरबहादुर कमरले डा केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिए।

उनको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई प्रेसर कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उनलाई बहुविशेषज्ञ भएको विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाई सोमबार जानकारी गराएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्तिमा उनले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन निषेध गरेकाले स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा देखिएकाले विशिष्ट अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आजै अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका थिए।

डा केसी सत्याग्रह