धनगढी। सुदूर पश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने उद्देश्यले दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र संचालन गरिएको छ।
नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा शैल्यशिखर नगरपालिकासँगको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा उपचार केन्द्र सञ्चालन गरिएको हो।
अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परीक्षण, औषधि उपचार चश्मा उपलब्ध गराउनुका साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने छ।
आँखाको जटिल समस्या भएका बिरामीलाई आँखा परीक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परीक्षण र आवस्यक परामर्श गरि उपचार सेवा समेत प्रदान गरिने छ।
विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरि चश्माको आवस्यकता भएका विद्यार्थीलाई निःशुल्क चश्मा समेत केन्द्रबाट उपलब्ध गराइने छ।
शैल्यशिखर नगरपालिका नगर प्रमुख विजयसिंह धामीको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकोषाध्यक्ष विष्णुदत्त जोशी र धामीले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
नेपाल नेत्रज्योति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज जोशी र नगरपालिकाका उपप्रमुख शान्ति खडायतले शुभकामन व्यक्त गरे।
सहभागीहरुलाई स्वागत गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले गरेका थिए। उनले आँखा रोगको वर्तमान अवस्था र आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारेका थिए।
गेटा आँखा अस्पताल